काठमाडौं, असार २५ । मन्त्रिपरिषद्ले डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । त्यस्तै सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसअघि सिर्जना गरिएको एआईजीको थप दरबन्दीमा थापालाई बढुवा गर्ने निणय गरेको हो । यो सँगै नेपाल प्रहरीमा अब एआईजीको संख्या ५ पुगेको छ ।
बढुवा समितिले असार १४ गते थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । थापा केन्द्रीय अनुसन्धान ब्युरोबाट गत साता मात्रै प्रहरी प्रधान कार्यालय प्रदेश प्रहरी समन्वय निर्देशनालयमा सरुवा हुनु भएको थियो । असार पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा साधारण (प्रशासन) सेवातर्फ एआईजीको एउटा दरबन्दी थपेको थियो । त्यही थप भएको दरबन्दीमा थापाको बढुवा भएको हो । हाल प्रहरीमा कार्य तथा अपराध अनुसन्धान, प्रशासन तथा मानव स्रोत विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी छ । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका थापा गत वर्ष डीआईजीमा बढुवा हुनु भएको थियो ।
एआइजीमा बढुवा भएसँगै अब थापाले भावी आइजीपीका लागि अर्का एआइजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्नेु हुने छ । यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको थियो । थापाले केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको प्रमुखका रुपमा काम गर्नुभएको अनुभव छ । त्यस्तै उहाँले चितवन, काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गर्नु भएको छ । हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित २०४९ वैशाख १९ मा सेवा प्रवेश गरेका अधिकृतले अबको १० महिनापछि ३० वर्षे सेवा हदका कारण अवकाश पाउनेछन् ।
त्यस्तै, बरियतामा एक नम्बरमा रहेका पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार (आज) बिहान सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

