Kath khabar
क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै


                 खोटाङ, जेठ  २४ । फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बन्नुभएकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ ।

हाल झापाको बुद्धशान्ती चोक बस्दै आउनुभएकी पीडित दुर्गाको उपचारका लागि एक सय ८८ जना शुभेच्छुकबाट रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटाइएको हो । अभियानका क्रममा सङ्कलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियन्ता एवं नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये रु एक लाख १२ हजार चिसापानी बजारमा सामूहिकरुपमा सङ्कलन गरिएको हो ।

फोक्सोमा क्यान्सर पुष्टि भएपछि गत मङ्सिरदेखि दुर्गाको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फोक्सोको क्यान्सरको उपचार भइरहेकै बेला  उहाँलाई ब्रेन ट्युमरको समस्यासमेत थपिएको थियो । दुर्गालाई नियमित टाउको दुखिरहने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको दुर्गाका पति गणेश बस्नेतले जानकारी दिनुभयो । गत जेठ ७ मा दुर्गाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

फोक्सोको क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट एकैसाथ आक्रमणमा पर्नुभएकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि आर्थिक सहयोग जुटाइरहेका छन् । (रासस)
---

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update