
काठमाडौं, असार ३१ । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह विगत एकदशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध रहनुभएको छ । उहाँ नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त व्यक्ति हुनुुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई एकेडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गर्नुुभएको छ ।
यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाउनुभएको व्यक्ति हुनुहुन्छ । उहाँ एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुनुहुन्छ । उहाँ यसअघि यूनाइटेड फाइनान्सको सीइओको रुपमा कार्यरत रहनुभएको थियो । यूनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफलरुपमा मर्ज गराएर एकीकृत कारोवारसँगै उहाँले करिअरको १६ वर्ष समय बिताउनुभएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गर्नुुभएको थियो ।
मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गर्नुभएको थियो । यी संस्थाहरुमा उनको ननबैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो । मिश्रले काठमाडौं युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा एमफिल (प्राचार्य) सम्मको अध्ययन पूरा गर्नुभएको छ । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहनेछ ।