Kath Khabar
हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित, सिमकोटको तापक्रम ‘माइनस डिग्री’

                    सिमकोट (हुम्ला), पुस ९ ।  हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो ।

यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उहाँले बताउनुभयो । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा  पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभएको छ । ––– (रासस)

 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update