
काठमाडौं, साउन २० । सरकारले २० वर्ष पुराना सवारी साधन चलाउन दिने भएको छ । राम्रो अवस्थामा रहेका पुराना सवारी साधन चलाउन दिने संसदको विकास तथा प्रविधि समितिले बताएको छ ।
बुधबार बसेको समितिको बैठकले सवारी धनीहरुको गुनासो अत्याधिक आएको भन्दै २० वर्ष पुराना सवारी साधान चल्न दिने निर्णय गरेको हो । समिति सभापति कल्याणी खड्काले २० वर्ष पुराना सवारी साधन चलाउन प्राविधिक परिक्षण गरिने र त्यसमा उपयुक्त भएमा सवारी साधान चलाउन अनुमति दिने बताउनु भयो । सो सँगै समितिले पुराना सवारी साधन चल्न दिनको लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र यातायात विभागमा महानिर्देशक नमराज घिमिरे सहितको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समितिले यान्त्रिक परिक्षणमा ठीक रहेका सवारी साधनलाई विस्थापित नगर्न भनेको हो ।
समितिले सरकारी तबर सवारी ड्राइभिङ तालिम केन्द्र खोल्न सरकारको नाममा निर्देशन दिएको छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ७ वटै प्रदेशमा सरकारी सवारी चालक तालिम केन्द्र खोल्न समितिले सरकारलाई निर्देशन दिएको हो । समितिले सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा अत्यधिक सवारी दुर्घटना सवारी चालकको कमजोरी र लापरवाहीको कारण देखिएकोले निजी क्षेत्रका चालक स्कुल र सरकारी तालिम केन्द्रको एउटै मापदण्ड तयार पान मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिमा मन्त्रालयले इम्बोस्ट नम्बर प्लेट जडान गर्दा राज्यलाई दुई अर्ब रुपैयाँ फाइदा हुने जानकारी गराएको छ । समितिको छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले २५ लाख रुपैयाँ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा राज्यलाई दुई अर्ब रुपैयाँ फाइदा हुने बताउनु भयो ।
उहाँले हालसम्म १९ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको बताउनु भयो। ‘भाषाको विषयमा सर्वोच्चमा मुद्धा परेका कारण जडान संख्या कम भएको हो’, महानिर्देशक घिमिरेले भन्नुभयो, ‘विवाद नभए काम अघि बढ्छ । इम्बोस्ड नम्बर प्लेट जडानको काम गर्दा सरकारले पाँच अर्ब रुपैयाँ खर्च गर्दा सर्वसाधारणबाट सात अर्ब रुपैयाँ उठ्छ । दुई अर्ब रुपैयाँ राज्यलाई फाइदा हुन्छ ।’
विभागले हाल एक दिनमा १० हजार नम्बर प्लेट छाप्ने मेसिन ल्याउने तयारी गरेको समितिलाई जानकारी गरायो । २०७३ साल जेठ १७ गते यातायात व्यवस्था विभागले डेकाटुर टाइगर आईटीसँग इम्बोस्ड नंम्बर प्लेट खरिद सम्झौता गरेको थियो भने हालसम्म यसका लागि ५० करोड रुपैयाँ लगानी भइसकेको छ ।