काठमाडौं, वैशाख १२ । इलामको इलाम नगरपालिका-६ पिपलबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तविर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिका-१० बस्ने २२ वर्षीय बिर बहादुर तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-७ थानगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित धनकुटा साँगुरगढी गाउँपालिका-९ बस्ने २२ वर्षीय सलिन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ को.३७ प ८६३१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको र को.प्र.१-०२-०४३ प ३०६३ नम्बरको मोटरसाइकल चालक सलिनलाई नियन्त्रणमा लिई दुबै मोटरसाइकललाई तलासी गर्दा दुबै मोटरसाइकलमा रहेको २ वटा बोरा र २ वटा झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार को.३७ प ८६३१ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका-४ पदनाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ पदनाहा बस्ने २२ वर्षीय मनोज थारु, १९ वर्षीय विशाल परियार र २८ वर्षीय अन्तराम थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले भे.८ प ७७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित दमक नगरपालिका-८ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-६ घर भएकी २८ वर्षीया मिना लिम्बु राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय केदार बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।