Kath Khabar
जसपा नेत्री बबिसिंह यादवले वैवाहिक समारोहमा बन्दुक पड्काएकोबारे अनुसन्धान सुरु

                    काठमाडौं, वैशाख १८ । जनता समाजवादी पार्टीकी नेत्री बबिसिंह यादवले विवाह समारोहमा पड्काएको पेस्तोल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र सक्कली पेस्तोल हो कि होइन जाँचका लागि विज्ञान प्रयोगशाला पठाउने भएको सर्लाही प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार प्रहरी कार्यालयमा सोधपुछको क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेत्री बबिसिंह यादवले सर्लाहीमा आफ्नी मामाकी छोरीको बिहेमा खलौनावाला तर वारुद हालेर पड्काउने बन्दुक पड्काएको भनेकी थिइन्। त्यसपछि सर्लाही प्रहरीले यादवको मामा घर गएर बन्दुक नियन्त्रणमा लिएको खतिवडाले बताए।

सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बीबीसीलाई "भिडियोमा देखिएको भनिएको 'पेस्तोल' केहीबेरअघि सर्लाहीबाट खानतलासीको क्रममा बरामद गरेर मुचुल्का उठाउने काम भएको" बताए।

उनले भने, "यही बैशाख ११ बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी मेहेन्दीको कार्यक्रममा उक्त पेस्तोल पड्काएको भन्ने विवरण आएको छ। पेस्तोल हेर्दा सक्कली जस्तो नदेखिए पनि थप जाँचका लागि विज्ञान प्रयोगशालामा आज पठाउने छौँ।" नेपालमा पटाखा पड्काउन नै बन्देज रहेको उनले बताए।

राई भन्छन्, " सामान्य बारुद हालेर पड्काउने खालको हो कि के कस्तो पेस्तोल हो भन्ने बारेमा प्रयोगशालाबाट रिपोर्ट आईसकेपछि मात्रै थप पक्रिया अगाडि बढाउने छौँ।" जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री बबीसिंह यादवले एउटा वैवाहिक नाच्दै पेस्तोल पड्काएको दाबी गरिएको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आकाशतर्फ फर्काएर पड्काएको उक्त बन्दुकको दृश्यपछि सामाजिक सञ्जालमा फेरि एक पटक सर्वसाधारण नागरिकले कस्ता हतियार राख्न पाउँछन् र त्यसको प्रयोगबारे के व्यवस्था छ भन्ने बहस चलिरहेको छ। सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालकी केन्द्रीय सदस्य हुन् भने सोही पार्टीका उपाध्यक्षसमेत रहेका उनका बुवा मृगेन्द्रसिंह यादव अहिले राष्ट्रिय सभाका सदस्य छन्।

सप्तरी जिल्ला प्रशासन कार्यालयले उक्त घटनाबारे वास्तविकता बुझ्न प्रहरी प्रमुखलाई निर्देशन दिएको बताएको छ। त्यसैगरी त्यहाँको प्रहरीले सोधपुछका लागि भिडिओमा देखिएको भनिएकी बबीसिंह यादवलाई सोधखोजका लागि बोलाइएको जनाएको छ।

राष्ट्रिय सभा सदस्य रहेका मृगेन्द्रसिंह यादवले आफ्नी छोरीले मामाको छोरीको विवाहमा खेलौनावाला अर्थात् विवाहमै पड्काउनका लागि भनेर बजारमा पाइने बन्दुक पड्काएको दाबी गरेका छन्। "सामाजिक सञ्जालमा हाल वास्तविकता भन्दा पनि झुटा र अफवाह छिटो फैलिन्छ भन्ने उदाहरण यही भिडियोमा देखिन्छ," उनले भने।

"भतिजीको विवाहको क्रममा मेहेन्दीको दिन पड्काइएको खेलौना बन्दुक हो। महिलाहरू नाचेर रमाइलो गरिरहेको ठाउँमा कसले सक्कली बन्दुक लिएर घुम्छ?" मधेसमा विवाहको बेला बाजा, पटाका, आतसबाजीहरू गर्ने चलन छ। सक्कली बन्दुक होस् या पटाकावाला खेलौना बन्दुक दुवै सार्वजनिक स्थानमा पड्काउनमा प्रतिबन्ध रहेको अधिकारीहरूले बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री यादवले विवाह उत्सवमा नाचिरहँदा आकाशतर्फ फर्काएर बन्दुक जस्तै देखिने सामग्री पड्काएकी छन्। उक्त भिडिओ अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनिरहेको छ। कतिपय प्रयोगकर्ताले उक्त बन्दुक खेलौना भएको बताइरहेका छन् त कतिपयले त्यसबाट निस्किएको धुवाँ हेर्दा त्यो सक्कली बन्दुक नै भएको टिप्पणी गरिरहेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे आफ्नो पनि ध्यानाकर्षण भएको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यसबारे बुझ्न सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडालाई जिम्मेवारी दिइएको बताएका छन्। प्रहरी प्रमुख खतिवडाले भने यसबारे वास्तविकता बुझ्न र आवश्यक सोधपुछका लागि भिडिओमा भाइरल भएकी सिंहलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको बताएका छन्।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले सो भिडियोको विषयमा अनुसन्धान भइरहेको बताए । 'भिडिओ मैले पनि हेरेँ, उहाँलाई बोलाएर अहिले केही बेरमा त्यस विषयमा सोधपुछ गर्छौँ,' उनले भने, 'सोधपुछ र अनुसन्धानपछि थप स्पष्ट हुन्छ ।' "उहाँसँगको सोधपुछ गरेर वास्तविकता बुझेपछि मात्र केही भन्न सकिन्छ," प्रहरी उपरीक्षक खतिवडाले भने।

निजी तरिकाले व्यक्तिले हतियार राख्नेबारे हातहतियार खरखजाना ऐन, २०१९, नियमावली २०२८ र मुलुक फौजदारी कार्यविधि संहिता, २०७४ ले व्यवस्था गरेको छ।

उक्त व्यवस्था अनुसार हतियार राख्न वा लिएर हिँड्नका लागि इजाजत पत्र लिनु पर्छ। कुनै व्यक्तिले इजाजत पत्र नलिई वा इजाजत पत्रमा तोकिएको सर्त बन्देजमा नरही हातहतियार लिएर हिँड्न हुँदैन। (बिबिसि नेपाली)

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update