-1747292663.jpg)
काठमाडौं, जेठ १ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका एकपछि अर्का पीडितहरूले कुनै व्यक्ति विशेषविरुद्ध जाहेरी नदिएको खुलासा गरिरहेका छन्।
सुप्रिम सहकारीमा रकम जम्मा गरेपछि फिर्ताका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएकी फेरी अर्का महिला पूजा न्यौपानेले कुनै व्यक्ति विशेषविरुद्ध उजुरी नदिएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले कुनै व्यक्ति विशेषलाई किटानी जाहेरी वा उजुरी नदिएकाे बताएकी हुन् । उनी भन्छिन् -
म सुप्रीम सहकारीको बचतकर्ता र सहकारीपीडित हुँ । मैले आफ्नो ब्यापारबाट आएको आम्दानीलाई धेरैथोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिए । जब सहकारी डुब्यो भन्ने थाहा पाए त्यसपछी धेरैपटक पैसा पाईन्छ कि भनेर सहकारी कार्यालय गएर लाईनमा बसे । पछी ईलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसिएकाहरुले निवेदन दिनु भनेपछी मैले पनि पैसा फिर्ता पाउ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो । मैले कुनै ब्यक्तिविशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन । तर रवी लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ ! मैले ढिलामात्रै थाहा पाए । कसैलाई उजुरीनै नदिएको मान्छेलाई उजुरीकर्ता बनाईरहदा प्रहरीले एकपल्ट जानकारी सम्म दिएन, मैले उजुरी दिएकै हैन मैले त पैसा फिर्ता पाउँ भनी निवेदनमात्रै दिएकि हुँ । म आजपनि भन्छु, हामीले दुख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ , तर कसैलाई राजनितिक रुपमा प्रतिशोध गरेर फसाउन खोजिरहदाँ हामी सोझा जनतालाई प्रयोग नगरियोस ।
यसले गर्दा सहकारी प्रकरणमा हाल पूर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रहरीले प्रतिवेदनका लागि प्रमुख आधार मानेको निवेदन झनै विवादमा पर्न थालेको छ । यसअघि पनि दुईजनाले व्यक्ति विशेषविरुद्ध उजुरी नदिएको बताएका थिए ।
यसअघि प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रवि लामिछानेविरुद्ध जाहेरी नदिएको बताएका थिए । त्यसपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको बताएकी थिइन् । उनले प्रहरीले अनुमतिविना आफूले रकम फिर्ताका लागि दिएको उजुरीलाई रविविरुद्ध प्रयोग गरेको बताएकी थिइन् ।