काठमाडौं, जेठ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।
सोमबार सोहीअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीश र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि हेर्न नमिल्ने भएको थियो । यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।