
काठमाडौं, जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुँदैछ । बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दै मा राखिएको निवेदनमा आज पनि सुनुवाइ हुने भएको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ ।
बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ । जवाफी बहस गरेपश्चात रिटमा आजै आदेश आउने सम्भावना छ ।
प्रहरीले लामिछानेलाई गैह्र कानुनी थुनामा राखेको भन्दै लामिछानेकी पत्नी निकिता लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।