
काठमाडौं, जेठ १२ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरमा मेघगर्जन र चट्याङ सहित हल्का बर्षा भइरहेको छ । बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
आज दिउँसो कोशी, मधेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको समेत सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।