काठमाडौं, जेठ १२ । गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजसंस्थाको समर्थनमा आयोजित प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले गाडी कुदाउदा भित्र बसेर भिडियो खिच्ने प्रकाशचन्द्र दाहालविरुद्ध जिल्ला अदालतमा ६ वटा मुद्दा दायर भएको छ ।
नेपाल पुकार युट्युव च्यानलका सञ्चालक दाहालविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको हो । सोहि दिनदेखि फरार रहेका उनको प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ ।
प्रसाईंसहित ६२ जनाविरुद्ध मुद्दा दर्ता हुँदा दाहाल पनि परेका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार ६२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बाँकी ३ जना नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर गर्ने तयारी गरेको छ ।
प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा यो मुद्दा अदालतमा दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढेको छ । घटनामा दोषी देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम सजाय माग गरिएको छ ।