काठमाडौं, जेठ २७ । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका दुर्गा प्रसाईसहित ३९ जनाको थुनछेक बहस सात दिनदेखि जिल्ला अदालत काठमाडौंमा जारी छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस चलिरहेको छ।
मंगलबार पनि थुनछेक बहसका लागि प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ । प्रसाईंलाई अदालतमा ल्याइँदा उनका समर्थकहरू अदालत परिसरभित्र भेला भएका थिए ।
थुनछेक बहसको क्रममा प्रसाईंसँगै अदालतमा ल्याइएकोमा हरिहरी चौलागाईं, सरोज गौतम, सतीश न्यौपाने, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सन्तोष कुमार सिलवाल र हेमराज थारु रहेका छन् । थुनछेक बहसको क्रममा दुर्गा प्रसाईं लगायत केही प्रतिवादीहरूको सकिसकेको छ ।
सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये ५० जनाविरुद्ध गम्भीर आरोपमा मुद्दा दायर भएको छ । दुर्गा प्रसाईंसहित ८ जनामाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको आरोप छ भने ११ जना धरौटीमा छुटिसकेका छन् ।