
काठमाडौं, जेठ २८ । पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोको अनुरोधमा विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधको कसुरमा पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’ अन्तर्गत ‘टफ एक्स्प्लेनर’ मा करिब तीन हप्ता अघि ‘हिल्टन होटल’को शेयर खरिदबिक्रीसँग सम्बन्धित रिपोर्ट प्रसारण गरेका थिए । उक्त सामग्रीमा जयवीरको सम्पत्तिका विषयमा पनि प्रश्न उठाइएको थियो ।
पाठकले उक्त शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए । उक्त रिपोर्टमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो ।
गत वैशाख २१ गते शंकर ग्रुपले विज्ञप्ति जारी गर्दै पाठकको दाबीलाई गलत समाचार बनाइएको भन्दै गम्भीर आपत्ति जनाइएको थियो ।