
काठमाडौं, जेठ २९ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।