Kath Khabar
सामाजिक सञ्जालमा 'सबै जनालाई अलविदा' लेखेर बेपत्ता भएका चिकित्सक सकुशल भेटिए

                            काठमाडौं, असार २ । सामाजिक सञ्जालमा ‘सबैलाई अलविदा’ लेखेर बेपत्ता भएका चिकित्सक डा केशव श्रेष्ठ फेला परेका छन् ।

उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनी काठमाडौंको तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ वुटिक रिसोर्ट नजिक उनी फेला परेका हुन् ।  प्रहरीको सोधपुछमा उनले आत्महत्या गर्न हिडेको तर डोरी नपाइएको भन्ने जवाफ दिएका छन् ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा 'सबैजनालाई अलबिदा' लेखेर सम्पर्कबिहीन भएका थिए । उनी सम्पर्कबिहीन भएको जानकारी पाएपछि प्रहरीले मोबाइल लोकेशन ट्र्याक गरी खोजी कार्य जारी राखेको थियो  । 

रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट भएर १८ महिनादेखि काम गरिरहेका डा श्रेष्ठले राजनीतिक हस्तक्षेप, अन्यायपूर्ण सरुवा, मानसिक दबाब र दुर्व्यवहारका  कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए। उनले सामाजिक सञ्जालमा "मैले ग़ल्ति बिनाको सजाय भोगेको छु। आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन" लेखेका थिए ।

 

 

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update