Kath Khabar
इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

                            काठमाडौं, असार ५ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् । 

पक्राउ मध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका-७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update