Kath Khabar
आज असार १५: राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने पर्व मनाइँदै

                   काठमाडौं, असार १५ । आज नेपालभर धान दिवस मनाइँदैछ ।  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।

रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले असार १५ प्रख्यात छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । २९ मंसिर २०६१ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

आज कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ जसमा तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update