
काठमाडौं, असार १६ । पत्रकार दिलभूषण पाठक विरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आज औपचारिक रूपमा काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गराएको हो ।
पाठकले युट्युबमा सञ्चालन गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाको नाममा होटल हिल्टनमा लगानी रहेको दाबी गरेका थिए, सोही सामग्रीलाई अभियोगको आधार बनाइएको छ । उक्त रिपोर्ट ‘चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको भन्दै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो ।
सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार अभियोग दाबी गर्दै १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ ।
यसअघि साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी प्राप्त गरेको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पाठक पक्राउ पर्नबाट बचेका थिए ।