
काठमाडौं, असार १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ३० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय मुहम्मद इस्सा कक्किरीचल पुथिय्यापुरयिल मंगलबार दिउँसो पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका पुथिय्यापुरयिललाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र आईपीपिएल १ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ फुलबारी मार्ग बस्ने ३४ वर्षीय हरिवोल खड्का र काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने गोरखा घर भएका ३० वर्षीय राजन लामा रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट नगद ५२ हजार १ सय ९० रूपैयाँ, २ थान मोबाइल र उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५६ प ५६५० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-६ बस्ने ३७ वर्षीय महमद मुस्लिम र २२ वर्षीय सद्दाम सेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ५३७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय युवराज दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह ६५०० नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दर्जीलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ जुनेलि बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ भुजेल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र डाईजेपाम ६० एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय मनिष तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१७ पिपरहीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ भरौलिया बस्ने २७ वर्षीय करन प्रसाद थारू र २५ वर्षीय कपिल देव थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले लु.४९ प ४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ८० ट्याब्लेट सहित बारा पचरौता नगरपालिका-३ घर भएका १९ वर्षीय मुकेश कुमार पटेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८६३१ नम्बरको माइक्रोबसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५० ट्याब्लेट र प्रेगाबालिन ९९ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने झापा शिवसताक्षी नगरपालिका-१ घर भएका २७ वर्षीय अनिल कुमार ठाकुर र उदयपुर कटारी नगरपालिका-७ घर भएका २५ वर्षीय कुमार राई रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (स्राेतः नेपाल पुलिस)