
रसुवा, असार २४ । रसुवाको नेपाल-चीन सीमास्थित लेन्दे खोलामा आएको बाढीमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको छ । बाढीमा परेर तीन प्रहरी सहित १५ जना बेपत्ता भएका छन् ।
चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन् । रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको भने उद्धार गरिएको छ ।
रसुवाको केरुङ र लेन्देखोलामा करिब तीन बजे अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको छ । रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रुपमा बगाउनुका साथै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ, मानिस र सवारी आवागमन बन्द भएको छ ।
साथै, गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्ड स्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अवरोध भएकाे छ भने इभी चार्जिङ स्टेशनमा क्षति पुग्नुका साथै अ. ७/८ वटा इभी गाडी बगाएको छ ।
गृहमन्त्रीको सचिवालयले बाढीमा फसेकाहरूको उद्धार गर्न हेलिकप्टर तयार रहेको जानकारी दिएको छ। नुवाकोटको त्रिशूलीमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
त्रिशूलीमा फसेका दुईजनाको हेलिकप्टरद्वारा उद्धार
नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । नुवाकोट, विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेका उनीहरुको नेपाली सेनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भएको हो ।