
रसुवा, असार २४ । चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म सात जनाको शव फेला परेको छ भने २० जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका १, २, ३, आमाछोदिङ्मो गाउँपालिका १, २, ४, ५, उत्तरगया गाउँपालिका २, ४, ५ र कालिका गाउँपालिका १ रहेका छन् । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । रसुवाको केरुङ र लेन्देखोलामा करिब तीन बजे अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको छ । रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रुपमा बगाउनुका साथै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ, मानिस र सवारी आवागमन बन्द भएको छ ।
साथै, गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्ड स्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अवरोध भएकाे छ भने इभी चार्जिङ स्टेशनमा क्षति पुग्नुका साथै अ. ७/८ वटा इभी गाडी बगाएको छ ।
बिहान ३ बजेदेखि भोटेकोशी नदीमा आएको बाढी अहिले घट्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी आउनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ ।