रसुवा, असार २५ । रसुवागढीमा मंगलबार आएको बाढीमा परी बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको छ । बाढीमा परी १९ जना अझै बेपत्ता रहेका छन् । बाढीमा परी मृत्यु हुनेकाे संख्या नाै पुगेकाे छ । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियाे ।
उनकाे शव भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या ९ पुगेको हाे । मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत भएकाे छ । उक्त बाढीमा परी हालसम्म मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत भएकाे छ । अरू चार वटा मानव अङ्गमात्रै फेला परेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार दुइ प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो ।
बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । रसुवाको केरुङ र लेन्देखोलामा करिब तीन बजे अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको छ । रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रुपमा बगाउनुका साथै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ, मानिस र सवारी आवागमन बन्द भएको छ । उक्त बाढीले ६४ वटा सवारीसाधन बगाएको छ ।