
काठमाडौं, असार २९ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती, देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाईंदैछ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो ।
भानुभक्तले सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका थिए ।
भानुभक्तलाई कुवा बनाउँदैं गरेका सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएका थिए । उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
भानुभक्तलाई अर्ती दिने घाँसीले निर्माण गरेको कुवा आज पनि घाँसी कुवाले प्रसिद्ध छ । घाँसीकै प्रेरणास्वरुप भानुभक्तले साहित्य सिर्जना गरे र नाम कमाए । अयोध्याका राजा रामको जीवनी समेटिएको संस्कृत भाषाको रामायणलाई भावानुवादसहितको सरल नेपाली भाषामा प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यमा ठूलो योगदान दिएका थिए ।
उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि विविध साहित्यिक कार्यक्रम गरी मनाइन्छ ।