Kath Khabar
पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

 

                      रौतहट, साउन ४ । रौतहट जिल्लाका पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

३० वर्षीय प्रजापति शनिबार साँझ कटहरिया नगरपालिकाको वडा नम्बर ५ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनलाई परिवारका सदस्यले कोठामा मृत फेला पारेपछि नजिकको प्रहरी कार्यालयमा खबर गरेका थिए । अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार वाचन गर्थे । समाचार सम्प्रेषणको विषयलाई लिएर केहि दिनदेखि उनी तनावमा भएको बताइएको छ । सो विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । त्यतिबेला यो घटनाको नेपाल पत्रकार महासंघलेसमेत विरोध जनाएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update