सिन्धुली, साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना रहस्यमय ढंगले गाउँबाटै हराएका छन् ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उनीहरु हराएको भन्ने सूचना दिएका थिए । गाउँलेले उनीहरूलाई बिहीबारदेखि नै नदेखेको बताएका छन् । बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ जना छोरा, ५ जना छोरी र २ ज्वाइँहरू तथा नातिनातिनाहरू भएको बताइएको छ ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरूको घरको झ्यालढोका खुलै रहेको थियो । उनीहरुले पालेको कुखुरा, बाख्रा, भैँसी बाँधिएकै स्थानमा अलपत्र अवस्थामा भेटिएको छ । तर हायुको परिवारका कोही सदस्य पनि भेटिएका छैनन् ।
बेपत्ता भएकामध्ये एक जनाको मोबाइलको लोकेसन ट्र्याक गर्दा शुक्रबार राति १० बजेर ९ मिनेटकाे समयमा रामेछापबाट स्वीच अफ भएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूको तीव्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।