Kath Khabar
अन्धविश्वासले लखेटेकाे हायु परिवार र उनीहरूले दिएकाे सास्ती
पोखरामा भेटिएका हायु परिवार

                                सिन्धुली, साउन १३ । सिन्धुलीकाे गोलञ्जोर गाउँपालिका–६ भण्डास बिप्पर कटेरीबाट बेपत्ता भएका उर्मिला हायुको १६ जनाको परिवार पोखरामा सकुशल फेला परे । सोमबार दिनभर सिन्धुली, रामेछाप हुँदै पोखरासम्मको खोजीका क्रममा उनीहरूलाई पोखराको गगनगौंडामा प्रहरीले फेला पारेको हो ।

प्रहरीका अनुसार पोखरा घुम्न भनेर घर छाडेर आएका हायु परिवारमा उर्मिला हायु, कमला हायु, कोमलमाया हायु, उषा हायु, अस्मिता हायु, राजु हायु, हिमाल हायु, लालबहादुर हायु बेगबहादुर हायु, लक्की हायु, सुवर्ण हायु, ओमकुमारी हायु, अर्जुन हायु, रियासा हायु, पूर्ण हायु र शान्ता हायु छन् ।

सोमबार दिनभरि सिन्धुलीको खबर आएपछि आफूले शंका लागि प्रहरीलाई यसबारे जानकारी दिएको होटल सञ्चालक गिरीले बताए । जंगलको बीचमा एकान्तमा रहेको घरमा बसोबास गरिरहेका उनीहरू हराएको विषय सोमबार बिहान मात्र खुलेको थियो ।

घरमा भएका पशु चौपाया अलपत्र पारेर घर छाडेर हिँडेका उनीहरूलाई अन्ततः पोखरा गगनगौंडाका दुईवटा घरबाट प्रहरीले फेला पारेको छ । सोमबार बिहान गोठमा बाँधेका गाईभैंसी अलपत्र अवस्थामा कराइरहेको स्थानीयले देखेपछि परिवारका सदस्यको खोजी सुरु भयो, तर उनीहरू कतै भेटिएनन् ।

टुक्रा पारेर राखेको बंगुरको मासुसहितको भान्सा र घर अलपत्र अवस्थामा छाडेर उनीहरू कहाँ गए भन्ने विषय सोमबार साँझसम्म रहस्यमै थियो । परिवारका सदस्यमध्येका एक जनाको मोबाइल लोकेसन रामेछापमा ट्रेस भएको बाहेक कुनै ‘क्लु’ फेला परेको थिएन । ट्रेस भएको मोबाइल हराइरहेकी घरमुली उर्मिला हायुको हो । घटना रहस्यमय बन्दै गएपछि एसपी लालध्वज सुवेदी र सशस्त्र प्रहरीका डीएसपी सुवर्ण पोखरेल सोमबार साँझ घटनास्थल पुगेर अनुसन्धान थालेका थिए ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार हायु परिवारका जेठा छोरा भर्खरै विदेशबाट आएका र घरमा उर्मिलाका माइलो छोराका दुई जना साली र उर्मिलाका एक जना ज्वाइँ पाहुना लाग्न आएको तथ्य भेटिएको छ । ज्वाइँ सोमे तामाङ पोखराका भएको खुलेको छ ।

प्रहरीका अनुसार हराइरहेका एकाघरका १६ मध्ये १५ जनाले १२ हजार रुपैयाँका दरले गत ४ र ६ साउनमा वडा कार्यालयबाट भत्ता बुझेका थिए । एक जनाले काठमाडौंबाट एटीएममार्फत २६ असारमा ११ हजार ५ सय रुपैयाँ निकालेको फेला परेको छ । प्रहरीले मोबाइल लोकेसन ट्रेस भएको रामेछाप र ज्वाइँ सोमेको घर भनिएको पोखरा क्षेत्रसहित हायु बस्तीहरूमा खोजी कार्य गरेको थियो ।

उनीहरूले ९ साउनमा सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको वडा कार्यालयले पुष्टि गरेको छ । स्थानीयले भने सहकारीको ऋणको त्रासले गाउँ छाडेर हिँडेको अनुमान गरेका छन् । तर, अहिलेसम्म कुनै सहकारीले ऋण लगेको भनेर पुष्टि भने गरिसकेका छैनन् ।

सोमबार बिहान करिब ९ बजेतिर घरभन्दा माथिको गोठमा भैंसीको पाडो कराएपछि र हायु परिवारको चहलपहल नदेखेपछि स्थानीयले घरमा पुगेर हेरेका थिए । घरमा कोही नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय खुर्कोटको टिम, गोलञ्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठसहितका स्थानीय जनप्रतिनिधि, गोलञ्जोर गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख हरिकिशोर कार्कीसहितको टोली यतिबेला घटनास्थलमा छ । हायु परिवार बेपत्ताको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो ।

घटनास्थलमा पुगेका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिकिशोर कार्कीका अनुसार हायुको परिवारमा १६ जना रहेको प्रारम्भिक विवरण छ ।

घरमा उर्मिलाका जेठा छोरा विदेशबाट आएका थिए । घरको बाहिर पाली जोडेर बनाइएको भान्सामा आगो लागेको छ । पाली अड्याउने खाँबो भाँच्चिएको छ । अगेनानजिकै बाटामा सुँगुरको नपकाएको मासु छ । केही गन्हाएको छ । घरका लुगाफाटो बाहिर फालेको देखिन्छ । घरमा त्यस्तो धेरै सामान केही देखिँदैन । ६ वटा बाख्रा, ६ वटा कुखुरा छन् ।

घरमुली रहेकी उर्मिला हायुको फोनमा भने तीन दिनअघि रामेछापको सिमन्दीछापमा अन्तिम लोकेसन देखाएको प्रहरीले जानकारी दिएको छ । हायु परिवारको घरबाट सबैभन्दा नजिकको घरमा पुग्न १५ मिनेट समय लाग्छ । घरको माथि गोठमा बाँधिएको भैंसीलाई घाँसपात गर्न तीन दिनदेखि हायु परिवार नगएपछि गोठनजिकैका छिमेकीले खोजी गर्दा उनीहरू घरमा नभएको थाहा भएको थियो । उनले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए ।

प्रहरीले खोजतलासमा प्राप्त फोन नम्बरमध्ये एउटा मोबाइल नम्बरमा तीन दिनअघिको लोकेसन रामेछापको सिमन्दीछापमा देखिएपछि रामेछापबाट प्रहरी टोली त्यता गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताएका थिए ।

पोखरामा फेला परेकी २२ वर्षीया उषा हायु भने चार दिन अघिसम्म काठमाडौंमै रहेको खुलेको छ । उनी दिदी भिनाजुसँग काठमाडौंको धापासी हाइटमा बस्थिन् । उषाका भिनाजु आयुस श्रेष्ठका अनुसार चार दिनअघि उनी भत्ता नवीकरण गर्न घरबाट बोलाएको भन्दै काठमाडौंबाट हिँडेकी थिइन् ।

घरबाट हतारिँदै हिँडेपछि उषासहित परिवारका कसैसँग सम्पर्क नभएको र हराइरहेको विषयमा समाचार पढेर थाहा पाएको श्रेष्ठ बताउँछन् । उषाकी दिदी भने धापासीस्थित हेराल्ड कलेजको क्यान्टिनमा काम गर्छिन् ।

अन्धविश्वासले लखेटेपछि…
सिन्धुलीबाट घर छोडेर हिँडेको उर्मिला हायुको १६ जनाको परिवार धामी झाँक्री परम्पराको सिकार बनेको देखिएको छ । पोखरामा भेटिएका हायु परिवारका सदस्यले घरमा भूतप्रेतको बास भएका कारण बस्न नसकेर घर तथा गाउँ नै छोडेर हिँडेको बताएका छन् । अर्काे तर्फ गाउँमा उनीहरुको ऋण भएको कारणले पनि गाउँ छोडेको बताएका छन् ।

उर्मिलाकी माइली छोरी लामो समयदेखि काम्ने रोगले ग्रसित थिइन् । उनलाई निको पार्ने क्रममा धामी झाँक्रीले घर नै छोडेर हिँड्नुपर्ने बताएपछि उनीहरू कसैलाई जानकारी नै नदिई घरबाट निस्किएको पाइएको छ ।

झाँक्रीको सल्लाहअनुसार घरको दलिनमा अबिरले रंग्याउने, दोबाटोमा भूतप्रेत मन्साउनेलगायतका परम्परागत विधि सकेर घरतिर फर्केरसमेत नहेरी पोखरा पुगेको हायु परिवारले बताएको छ । (राजधानी दैनिकबाट साभार) 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update