
काठमाडौं, साउन १५ । काठमाडौं महानगरपालिका-२६ सामाखुशी टाउनप्लानिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९ ग्राम २ सय २० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८२ हजार ६ सय ३५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ पिपलामोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ७ सय ६० ट्याब्लेट र नगद ६० हजार रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बिन्दबासिनी गाउँपालिका-९ बस्ने २० वर्षीय राज कुमार पटेल र सोलुखुम्बु घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०२-०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा.७२ प ६६२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामानिल १ हजार १ सय २० ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-११ घर भएका ३४ वर्षीय आशिष विक, ३० वर्षीय मनबिर गुरुङ र पोखरा बस्ने तनहुँ घर भएका १७ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको ग.१ ख ३९६१ नम्बरको माईक्रो भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक आशिष विक सहित ३ जनालाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नाम्यागेलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ नाम्यागेल बस्ने कालिकोट घर भएका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोक घर २४ वर्षीय सूर्य लामा र काभ्रेपलाञ्चोक खानिखोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय बिमल मगर रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २६ वर्षीय विशाल चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले से.६ प २६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ श्रीरामनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २० वर्षीय सुरेन्द्र रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध गाँजा ५ किलो ४० ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-५ शिखरसी घर भएका २४ वर्षीय बिक्रम परियारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक पाइपलाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५० ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएका ३६ वर्षीय रमेश दाहाल र काभ्रे मण्डन देउपुर नगरपालिका-६ घर भएका २७ वर्षीय नबिन चौलागाई रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-६ केउलानीस्थित अजय चाइनिज फास्ट फुड पसलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६२ क्याप्सुल सहित पसलका संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय अजय ठाडा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिबेणीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बारा, फेटा गाउँपालिका-१ भलुहिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४७ ग्राम १ सय ८० मिलिग्राम सहित विश्रामपुर गाउँपालिका-१ घोडासाहन बस्ने २२ वर्षीय अजमुल हक अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-२ पानी ट्याङ्की बस्ने २३ वर्षीय कृष्ण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.५ प ३३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।