काठमाडौं, साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनको सुनुवाइ रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा जारी छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले सहकारी ठगीमा आफूलाई लागेको बिगो बुझाएर मुद्दाबाट छुटकारा दिन माग गरेका थिए । उनले बिगोबापतको २ करोड ७४ लाख ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेका छन् । अदालतमा बुझाएको बिगोवापतको रकम २ करोड ७४ लाख ८४ हजार आफ्ना शुभचिन्तक आफन्तहरूमार्फत प्राप्त हुन आएको उनले दाबी गरेका छन् ।
लामिछानेलाई भने इजलासमा उपस्थित गराइएको छैन । बहस सकिएपछि लामिछानेलाई बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने नदिनेबारे फैसला हुनेछ । लामिछानेले २०८२ साउन १९ गते आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए ।
चैत २५ गतेदेखि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।