Kath Khabar
कस्तो छ अहिलेको मौसमको अवस्था ? आज कहाँ कहाँ पर्नेछ पानी ?

                          काठमाडौं, भदौ १४ ।  हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित छ ।

आज (शनिबार) साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले शनिबार साँझ देखि १६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागमा मनसुन सक्रिय हुने सम्भावना रहेको देखिएको छ।

बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावको कारण शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
                    

 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update