
काठमाडौं, भदौ २० । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयसँगै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) ले दर्ता प्रक्रिया सुरु गर्न औपचारिक रूपमा सम्पर्क गरेको छ ।
ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा सूचीकरणबारे आधिकारिक आधिकारिक इमेल पठाएको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सञ्चार प्राप्त भएको पुष्टि गर्दै आवश्यक कागजातहरू प्राप्त भएपछि दर्ता प्रक्रिया तुरुन्तै अगाडि बढ्ने बताएका छन् ।
यस्तै, फेसबुकको मूल कम्पनी मेटाले अहिलेसम्म मन्त्रालयसँग कुनै आधिकारिक रूपमा सम्पर्कमा नआएको ठाकुरले बताएका छन् । मन्त्रालयले बिहीबार जारी गरेको निर्देशनपछि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जाल एप र वेबसाइटहरू ब्लक गर्न थालेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले टेक्नोलोजीखबरलाई भने, ‘एक्सले दर्ताको लागि के के डकुमेन्ट चाहिन्छ भने अफिसियल लेटरहेडमा फर्मल लेटर पठाएको छ। हामीले पनि उहाँहरुलाई तुरुन्तै यो यो प्रक्रिया हो र यी डकुमेन्ट चाहिने हो भनेर जवाफ लेखेर पठायौं।’