Kath Khabar
सामाजिक सन्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजी पुस्ताको भोलि वृहत प्रदर्शन

                          काठमाडौं, भदौ २२ । जेनजी पुस्ताले भोलि देशभरि प्रदर्शन गर्ने भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध आवाज उठाउँदै भोलि भदौ २३ गते काठमाडौंको माइतीघरसहित देशभरका सहरमा वृहत प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

सोशल मिडियामा यो अभियानले व्यापक समर्थन प्राप्त गरेको छ । स्वदेश अनि विदेशका युवा पुस्ताको राम्रो साथ पाएको छ ।  "Gen G" भनेको "Generation G" को संक्षिप्त रूप हो । सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्तालाई जेनजी भनिएको छ । 

राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैली र आम नेपाली नागरिकको दैनिक संघर्ष बीचको स्पष्ट भिन्नता उजागर गर्ने भाइरल टिकटक ट्रेन्डको प्रतिक्रियामा यो विरोध प्रदर्शन गरिएको हो । अहिले सामाजिक सञ्जाल टिकटकमा राजनीतिज्ञका परिवारहरूले विलासी वस्तुहरू, महँगो जीवनशैली, खानपान, पहिरन र उनीहरुको सन्तानको पनि जीवनशैलीलाई लिएर आचोचना भइरहेको छ ।  यसले नेपाली युवाहरूमा आक्रोश जगाएको छ, जसले विरोधलाई भ्रष्टाचार, असमानता र शक्तिको दुरुपयोग विरुद्धको अडानको रूपमा हेरेका छन् । टिकटकमा नेपो बेविज, वी आर त लास्ट जेनरेशन द्याट यु क्यान फूल लगायतका ट्रेण्ड चलेका छन् ।

फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो प्रवृत्ति अब नेपालमा पनि फैलिएको छ । यसले अन्य जिल्लाका युवाहरूलाई पनि त्यसै गर्न प्रेरित गरेको छ । प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने बताइएको छ । सबैलाई संगठित र शान्तिपूर्ण प्रदर्शन गर्न पनि अनुरोध गरेका छन् ।

नेपाल सरकारले ४ सेप्टेम्बर २०२५ मा फेसबुक, इन्स्टाग्राम, युट्युब, X (ट्विटर) लगायतका २६ प्रमुख सामाजिक मिडिया प्लेटफर्महरूलाई बन्द गरेको घोषणा गरेको छ । सरकारका अनुसार, यी प्लेटफर्महरूले नेपाल सरकारसँग दर्ता नगरेको र स्थानीय कानूनी मापदण्डहरू पालना नगरेको कारणले गर्दा यो कदम उठाइएको हो । यस निर्णयले युवाहरूमा आक्रोश र असन्तोषको माहौल सिर्जना गरेको छ । जेनजी का युवाहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारको उल्लंघनको रूपमा लिएका छन् ।

यस प्रदर्शनमा कामपाका मेयर बालेन शाह, दुर्गा प्रसाई लगायत विभिन्न राजनितिज्ञ तथा सामाजिक अभियन्ताहरुको साथ रहेको छ ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update