काठमाडौं, भदौ २३ । जेनेरेशन जेड युवाहरू विभिन्न मागसहित माइतीघरमा विरोध प्रदर्शनमा उत्रेका छन् । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा अर्थात् जेन जीहरुले प्रदर्शन सुरु गरेका हुन् । उनीहरु अहिले माइतीघरको पुरै सडक ढाकेर प्रदर्शन गर्दै बानेश्वर तर्फ अघि बढेका छन् ।
यसैबीच संसद भवन अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । नयाँ पुस्ताले सामाजिक सञ्जाल बन्द भएसँगै यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो । सत्ताको मनोमानीविरुद्ध विद्रोह जनाउने जेनजी पुस्ताको उद्धेश्य रहेको छ ।
उनीहरूले 'जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?', 'भ्रष्ट डर, कहाँ गयो कर ?', 'स्वतन्त्र आवाज हाम्रो अधिकार हो,' ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, 'भ्रष्टाचार रोकाै', ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर सडकमा आफ्नो विरोध प्रदर्शन गरेका छन् । उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावादजस्ता नाराहरु लगाइरहेका छन् । प्रदर्शनकारीहरू स्कूल र कलेजको पोशाकमा पनि देखिएका छन् ।,
फेसबुकलगायतका केही सामाजिक सञ्जाल बन्द भए पनि बाँकी रहेका टिकटक जस्ता सामाजिक सञ्लालमा अहिले यो जेनजी ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ । जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।
राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैली र आम नेपाली नागरिकको दैनिक संघर्ष बीचको स्पष्ट भिन्नता उजागर गर्ने भाइरल टिकटक ट्रेन्डको प्रतिक्रियामा यो विरोध प्रदर्शन गरिएको हो । अहिले सामाजिक सञ्जाल टिकटकमा राजनीतिज्ञका परिवारहरूले विलासी वस्तुहरू, महँगो जीवनशैली, खानपान, पहिरन र उनीहरुको सन्तानको पनि जीवनशैलीलाई लिएर आचोचना भइरहेको छ । यसले नेपाली युवाहरूमा आक्रोश जगाएको छ, जसले विरोधलाई भ्रष्टाचार, असमानता र शक्तिको दुरुपयोग विरुद्धको अडानको रूपमा हेरेका छन् । टिकटकमा नेपो बेविज, वी आर त लास्ट जेनरेशन द्याट यु क्यान फूल लगायतका ट्रेण्ड चलेका छन् ।फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो प्रवृत्ति अब नेपालमा पनि फैलिएको छ ।
चितवन, दाङ, बुटवल पोखरा आदि शहरहरुमा पनि जेन जीको प्रदर्शन भइरहेको छ ।