Kath Khabar
देशभर भारी तथा दुई प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

                           काठमाडौं, भदौ ३० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

गएको २४ घण्टामा सबैभन्दा बढी पाल्पाको कुमाल गाउँमा (१६५.८ मिलिमिटर) पानी परेको छ। त्यसपछि कपिलवस्तुको बाणगंगामा (१५६.४ मिलिमिटर) र नवलपुरको देउराली नवलमा (१४६ मिलिमिटर) पानी परेको छ। १०० देखि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी पानी परेको भनिन्छ। बाँके, दाङ, रुपन्देही, स्याङ्जा, पर्वत र कास्कीमा पनि धेरै भारी पानी परेको छ महाशाखाले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update