
काठमाडौं, असोज २३ । दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-२ बस्ने १९ वर्षीय पुष्पा जोशी र २२ वर्षीय सुरज रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका-१ वनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-३ रतनी बस्ने २६ वर्षीय सुनिल महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले भरतपुरबाट माडीतर्फ आउँदै गरेको बा .प्र. ०३- ००४ प ४७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-४ बस्ने ४१ वर्षीय उपेन्द्र सिंह पाण्डे सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेइ गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली,धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय अविशेक सिजापतिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-१ नारायणपुर बस्ने २२ वर्षीय लक्ष्मी प्रसाद सापकोटा समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरीले कार्यालय भजनी र प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले से.२ प ४०८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी,कोशी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१० बस्ने २६ वर्षीय सरोज विश्वकर्मा र २१ वर्षीय सनम माझी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।