-1760596112.jpg)
काठमाडौं, असोज ३० । विपिन जोशीको आमा र बहिनी आज स्वदेश फर्किएका छन् । हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी स्वदेश फर्किएका हुन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।
हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका थिए । हमासले २० जना जीवितलाई फिर्ता गरेपछि विपिन जीवित फर्किने आश मरेको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिन २०८० भदौको अन्त्यतिर कैलालीको टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थी समूहको रूपमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । अक्टोबर ७, २०२३ मा, हमासले इजरायलमा गरेको आक्रमणमा किबुट्ज क्षेत्रबाट जोशीलाई बन्धक बनाएको थियो ।
जोशीको शव सोमबार फिर्ता गरिएको थियो र मंगलबार फोरेन्सिक पहिचान पछि उनी नै भएको पुष्टि भएको थियो । सरकारले विपिनको शव नेपाल ल्याउने तयारी थालेपछि उनका आमा र बहिनी स्वदेश फर्किएका हुन् ।