काठमाडौं, कात्तिक १९ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट निस्किएकाे विषयमा बयान दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने न्यायीक जाँचबुझ आयोगको कार्यालय सिंहदरबारमा उपस्थित भएका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट बाहिरिएका लामिछानेलाई आयोगको अनुरोधमा वयानका लागि आज सिंहदरबार ल्याइएको हो । त्यहा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको उक्त आयोगले उनीसँग सोधपुछ सुरू गरेको जनाएको छ ।
सहकारी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्केका थिए । उनी निस्केपछि चर्को आलोचना भएको थियो त्यसपछि केही समयपश्चात उनी आफै नख्खु कारागार नै फर्केका थिए ।
भदौ २४ गते लामिछाने कारागारबाट बाहिरिँदा उनले आफूसँग कारागारले नै दिएको पत्र रहेको दाबी गरेका थिए । आयोगको बयानका क्रममा नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेलाई कुनै पनि पत्र नदिएको बताएका छन् । उक्त पत्र नै विवादमा परेको थियो ।

