सिन्धुपाल्चोक, कात्तिक २१ । हेलम्बु गाउँपालिका-१, अम्बाथानमा पानीको सुरुङ स्थानीयले बन्द गरेपछि मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने काम रोकिएको छ ।
आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबारदेखि पथान्तरण बन्द गरेका हुन् । मेलम्ची बाढीपीडित संघर्ष समितिका अनुसार, समूहले मेलम्ची खानेपानी आयोजनाको साइट कार्यालयमा तालाबन्दी गरेको छ, माग पूरा नभएसम्म पानी पथान्तरण पुनः सुरु नहुने चेतावनी दिएको छ।
स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू र बाढी प्रभावित बासिन्दाहरूसँग मिलेर समितिले विगतका विरोध प्रदर्शनका क्रममा भएका सम्झौताहरू कार्यान्वयन नभएको बताएको छ । सरकारले बाढीपीडितहरूलाई गरेको प्रतिबद्धता पूरा गर्न असफल भएकाे भन्दै उनीहरूकाे माग पूरा नभएसम्म काठमाडौंमा पानी प्रवाह हुन नदिइने समितिका उपाध्यक्ष नवराज गुरागाईंले बताए ।
स्थानीयहरूले नदी नियन्त्रण गर्न र जोखिममा रहेका बस्तीहरूलाई जोगाउन तटबन्ध निर्माण, २०२१ को बाढीअघि मेलम्ची करिडोरमा घर र व्यवसाय निर्माण गर्न ऋण लिएका बाढी पीडितहरूको ऋण माफी, ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्तिलगायत विभिन्न मागहरू उठाएका छन् ।

