काठमाडौं, कात्तिक २७ । पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गामा बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ ।
पूर्वमन्त्री दीपक खड्काको कम्पनी, खड्का ल्याण्डले भाडामा लिएर चलाउँदै आएको उक्त जग्गा भाडाबापतको रकम नबुझाएको भन्दै नेपाल स्काउटले डोजर लगाएर भत्काएको छ । स्काउटले यही कात्तिक २० गते सूचना जारी गरी भाडा चुक्ता गर्न ७ दिने अल्टिमेटम जारी गरेको थियो । अल्टिमेटम सकिएसँगै महानगर प्रहरी डोजर लिएर पुगेको थियो ।
खड्काको कम्पनीले प्रयोग गर्दै आएको उक्त जग्गामा खड्का ल्याण्डले स्काउटबाट भाडामा लिएको तीन रोपनी जग्गाको सट्टा झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरी पार्टी प्यालेस, रेस्टुराँ र कार्यालय सञ्चालन गर्दै आएको थियो । समयमा जग्गा भाडा भुक्तानी नगरेपछि २०८१ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त जग्गा र त्यहाँ बनेको भवनलगायत संरचनामा सिलबन्दी गरेको थियो । भाडामा लिएर बक्यौता नतिरेपछि युवा तथा खेलकुद मन्त्रालयले जग्गा खाली गराउन महानगरसँग सहयोग लिएको छ ।
सिलबन्दी पश्चात् पनि खड्का ल्याण्ड प्रालिले भाडा चुक्ता गर्नुको साटो मुद्दा दायर गरी पटक–पटक मुद्दा फिर्ता गरी बहाल चुक्ता नगरेकाले अपूरणीय क्षति पुगेको स्काउटले जनाएको छ । काठमाडौँ महानगरपालिका–२९ मा खानी विभागसँगै रहेको जग्गा स्काउटले प्रालिलाई २०६५ सालमा भाडामा दिएको थियो। १० वर्षका लागि भाडा सम्झौता भएको थियो।

