Kath Khabar
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

                                   काठमाडौं, मंसिर २ । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् । 

पक्राउ मध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update