Kath Khabar
निषेधाज्ञाको अवधि थप, राति ८ बजेपछि पनि सवारी साधन चलाउन पाइने

काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञाको अवधि थप गरिएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको प्रावधानलाई हटाएका हुन् ।

पहिले राति ८ बजेपछि सवारीमा लगाइएको निषेधाज्ञा खुल्ला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो । आदेशमा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ ।

त्यस्तै २५ जना भन्दाबढी मानिस भेला भएर कुनै पनि सभा, गोष्ठी लगायत गर्न नपाइने भएको छ। कोरोना संक्रमण बढेपछि बैशाख १६ गतेबाट स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्दै आएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update