
काठमाडौं, भदौ ११ । गत साउन महिनामा दर्ता भएका कूल तीन हजार नौ सय १६ वटा अपराधमा चार हजार नौ सय दुुई अभियुक्तहरू संलग्न रहेका छन् । उनीहरूमध्ये चार हजार पाँच सय २८ पुरुष र तीन सय ७४ महिला रहेका छन् । अपराधमा संलग्नमध्ये तीन हजार सात सय १६ जना पक्राउ परेका छन् भने एक हजार एक सय ८६ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरूको ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ ।
साउन महिनामा अदालतबाट सजाय तोकिएका एक हजार एक सय १९ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । उनीहरूलाई छ सय तीन वर्ष ५३ महिना ८६ दिन कैद सजाय तोकिएको छ । साथै जरिवानाबापत विगो रकम ११ करोड ३० लाख ४९ हजार आठ सय ४७ रुपैयाँ असुल भएको छ । सो अवधिमा विभिन्न शीर्षक मार्फत ३६ करोड ४७ लाख ६५ हजार तीन सय ३१ रुपैयाँ राजश्व संकलन भएको छ । जसमध्ये अवैध मालसामान बरामदबाट मात्र ११ करोड ७६ लाख २० हजार सात सय ७३ रुपैयाँ संकलन भएको छ ।
साउन महिनामा भएका एक हजार आठ सय १८ वटा सवारी दुर्घटनामा परी एक सय ६० जनाको मृत्यु भएको छ भने पाँच सय ४० जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ । उक्त महिनामा कूल तीन सय ६१ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ५ सय ५६ जना मानिसहरू पक्राउ परेका छन् । साथै ३३५.८ किलो गाँजा, १८.९ किलो चरेश, ०.८९ ग्राम हेरोईन र ०.७ ग्राम अफिम बरामद भएको छ ।
साउन महिनामा ५८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने ९७ राउण्ड गोली र छ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियार सहित ३९ जना पक्राउ परेका छन् ।
साउन महिनामा कूल तीन हजार नौ सय १६ वटा अपराधका घटना दर्ता भएका छन् । दैनिक एक सय २६ वटा मुद्धा दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ । घटनामध्ये ज्यान सम्बन्धी सात सय १८ वटा, आत्महत्याको पाँच सय दुई वटा, चोरीको दुई सय ९६, संगठित÷आर्थिक अपराध पाँच सय ४४, सामाजिक अपराध आठ सय ९१, महिला बालबालिका विरुद्ध चार सय ६६, सवारी सम्बन्धी एक सय ३२ र विविध तर्फ तीन सय ६७ वटा मुद्दा दर्ता भएका छन् ।
यसैगरी हातहतियार तथा खरखजाना सम्बन्धी २५ वटा, बाल यौन दुराचार २५ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी १४ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका पाँच सय दुई वटा घटनामध्ये झुन्डिएर चार सय २२, विष खाएर ७३, पानीमा डुबेर तीन, हाम फालेर दुुई, हातहतियार औजारबाट एक र आगो लगाएर एक जनाले ज्यान गुमाएका छन्।
साउन महिनाभरि चार सय ३९ विपद्का घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् । जसमध्ये पहिरोबाट सात, बाढीबाट पाँच, चट्याङबाट पाँच, जनावरको आक्रमणबाट दुई, आगलागीबाट दुई र डुङ्गा दुर्घटनाबाट दुई जनाको ज्यान गएको थियो । उद्धारको लागि दुई हजार सात सय सात जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको थियो ।
साउन महिनामा विभिन्न माध्यम मार्फत प्रहरी कर्मचारी विरुद्ध जम्मा ४८ वटा उजुरीहरू दर्ता भएकोमा १३ वटा उजुरीहरू फछर्यौट भएका छन् भने ३५ वटा कार्यान्वयनको चरणमा रहेका छन् । साथै दुुई सय दुई जना प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही भएको छ ।
नेपाल प्रहरी अस्पतालमा वहालवाला प्रहरी कर्मचारी आठ हजार नौ सय एक जना, पूर्व प्रहरी कर्मचारी दुई हजार चार सय १२ जना, प्रहरी परिवार पाँच हजार आठ सय १३ जना, पूर्व प्रहरी परिवार एक हजार नौ सय २८ जना र सर्वसाधारण एक हजार आठ सय ८७ जनाले उपचार सेवा प्राप्त गरेका छन् । साथै कोभिड–१९ बिरूद्धको खोप लगाउने कार्यक्रममा भेरोसिल सात हजार चार सय ८३ जना, जोनसोन एण्ड जोनसोन १४ हजार एक सय १५ जना र एस्ट्राजेनिका नौ सय ७७ जना गरी जम्मा २२ हजार पाँच सय ७५ जनाले खोप लगाएका छन् । तीन हजार ४५ जनाको पिसिआर परिक्षण गरिएकोमा चार सय ४९ जनाको पिसिआर पोजेटिभ देखिएको छ ।