Kath Khabar
नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, भदौ ११ । बिहीबार राति नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो

डिभिजन सडक कार्यालयका सूचना अधिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उहाँले भन्नुभयो, “थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।” अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।

हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक-लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका-१३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गर्नुभएको छ । अहिले मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन् । यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खसिरहेको छ ।

(रासस)

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update