
काठमाडौं, भदौं १३ । काठमाडौं दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौं प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाउनु भएको छ । आफूहरुको समस्या समाधानमा चासो नदिएको भन्दै व्यवसायीहरुले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई चाबी बुझाउनु भएको हो ।
अघोषित रुपमा सबैजसो व्यवसाय तथा क्षेत्रहरु चलायमान हुदाँ दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालनमा काठमाडौं जिल्ला प्रशासनले कुनै चासो व्यक्त नगरेको उहाँहरुको भनाई छ ।
‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं’ व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको पत्रमा भनिएको छ ।
‘आफूहरुको व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुरको रोजगारीको ग्यारेन्टीसहित व्यवसायीको चाबी बुझिलिनुहुन हार्दिक अनुरोध गर्दछौं’ व्यवसायीको पत्रमा भनिएको छ ।
कोभिडको कारण देखाँउदै सरकारले विभिन्न क्षेत्र यस अघि बन्द गरे पनि त्यसलाई सञ्चालन गर्न दिएको छ । तर, हालसम्म दोहोरी साँझ र रात्रीकालीन व्यवसायी भने खुला गरेको छैन । सो सँगै व्यवसायीहरु आर्थिक मारमा परेको उहाँहरुको भनाई रहेको छ ।