काठमाडौं, भदौं १४। महिलाको नाममा जग्गा दर्ता गरेर छुट लिनेहरु साढे चार गुणाले बढेका छन् । घरजग्गा खरिदमा सरकारले अघिल्लो आर्थिक वर्ष ८८ करोड ८ लाख छुट प्रदान गरेकामा गत आर्थिक वर्षमा यस्तो छुट बढेर ४ अर्ब ७० करोड पुगेको छ । यसरी एकै वर्षमा जग्गा छुट लिने साढे चार गुणाले बढेका छन् ।
महिला, दलित, ७० वर्ष माथिका नागरिक, १८ वर्ष भन्दा कम उमेरका व्यक्तिका नाममा घरजग्गा किन्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था छ । त्यस्तै एकल महिलाका नाममा गरिने किनबेचमा भने ३५ प्रतिशत सम्म राजस्व छुट दिने व्यवस्था छ । यस्तो छुटका कारण महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढेको हो ।
छुट रकमको ९५ प्रतिशत भन्दा बढी हिस्सा महिलाका नाममा गरिने किनबेचको रहेको भूमि व्यवस्था तथा अभिलेख विभाग बताउँछ । वृद्धवृद्धा, बच्चा र दलितको नाममा भने कुल छुट रकमको ५ प्रतिशत भन्दा कम मात्रै राजस्व छुट हुने गरेको विभागका अधिकारीहरुको भनाई छ।
विभागका अनुसार २०७५/७६ मा एक अर्ब पाँच करोड ८३ लाख ६९ हजार ९४१ रुपैयाँ राजस्व छुट दिएको थियो । २०७४/७५ मा ८८ करोड ५७ लाख ६७ हजार ४३७ रुपैयाँ राजस्व छुट गरिएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा ३७ करोड ३६ लाख तीन हजार ७ सय ७५ रुपैयाँ राजस्व छुट गरिएको थियो ।
महिलाका नाममा किनिने घरजग्गामा मात्रै होइन महिला र पुरुष दुवै जनाको संयुक्त नाममा किन्दा पनि २५ प्रतिशत राजस्व छुट पाइन्छ ।
सम्पत्तिमा महिलाको पहुँच बढाउन अहिले श्रीमानको नाममा मात्रै भएको जग्गालाई १ सय रुपैयाँको लिखत बनाएर दुवै जनाको नाममा कायम गर्न सकिने व्यवस्था रहेको विभाग बताउँछ । दुबैका नाममा गर्दा परिवारमा विखण्डन आउन कम हुने भन्दै संयुक्त रुपमा घरजग्गा किन्न विभागले प्रोत्साहन गरेको देखिन्छ ।
सरकारले महिलामा नाममा जग्गा दर्ता गर्दा २५ प्रतिशत छुट दिएसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्दै गएको देखिन्छ । अहिले देशको कुल जग्गामा महिलाको नाममा दर्ता भएका जग्गा ३९ प्रतिशत रहेका छन् ।