
काठमाडौं, भदौ १७ । दार्चुलास्थित महाकाली नदीमा नेपाली युवा सवार तुइन काटिएको विषयमा नेपालले बनाएको प्रतिवेदनबारे भारतीय विदेश मन्त्रालयले जानकारी नभएको प्रतिक्रिया व्यक्त गरेको छ ।
भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएपछि महाकालीमा खसेर नेपाली युवा जयसिंह धामीले ज्यान गुमाएको प्रतिवेदन नेपाल सरकारले तयार पारे पछि भारतीय विदेश मन्त्रालयले सो घटनाको विषयमा जानकारी नभएको प्रतिक्रिया व्यक्त गरेको हो ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको बताउनु भयो । उहाँले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको समेत जिकिर गर्नुभयो ।
सञ्चारमाध्यम घटनाका बारेमा थाहा भए पनि कूटनीतिक च्यानलमार्फत आधिकारिक विवरण केही नआएको उहाँको भनाई छ। यस्तै तुइन काटिएको घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नताको विषयमा उहाँले अस्वीकार गर्नुभएको छ।
दार्चुला मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम खलंगा जाने क्रममा व्यास गाउँपालिका-२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी खस्नु भएको थियो।
भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानले तुइनको डोरी निकालेपछि धामी खसेको प्रत्यक्षदर्शीले बताउँदै आउनु भएको छ भने सरकारी प्रतिवेदनले समेत भारतीय सुरक्षाकर्मी दोषी देखाएको छ।
गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानविन समितिले बुधवार बुझाएको प्रतिवेदनमा एसएसबीकै उपस्थितिमा घटना भएको र भारतसँग कुटनीतिक पहलमार्फत छानविन गरी दोषीमाथि कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन भनिएको छ । बिहीबार गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको छ।