Kath Khabar
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय १६ जनाको मृत्यु 

काठमाडौं, भदौ १८ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म एक सय १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका छन् । 

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा एक सय ३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, छ जना महिला, पाँच जना बालक र एक जना बालिका रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका एक हजार दुुई सय ८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीको कारण तीन हजार एक सय ८२ वटा घर डुबानमा परेका छन् । नौ सय ७८ वटा घर, एक सय ६४ वटा गोठ, ६६ वटा पुल, आठ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने एक हजार तीन सय तीन वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ हजार ३ सय ४५ वटा विपद्काम घटनाबाट एक हजार दुई सय ६९ वटा घर परिवारका छ हजार एक् सय ११ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update