
दमौली, भदौ २९ । तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा रु एक करोडको लागतमा पशु सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लगानीमा निर्माण सम्पन्न भएको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शुभारम्भ गर्नुभयो ।
विसं २०७७ भदौदेखि निर्माण सुरु भएर चैतमा निर्माण सम्पन्न भएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गत साउन पहिलो साता गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । रु ९८ लाख ६१ हजार ४४९ को लागतमा भवन निर्माण गरिएको हो । सोही भवनबाट गाउँपालिकाको पशु सेवा शाखा पनि सञ्चालन गरिएको छ । गाउँपालिका अध्यक्ष थापाले पशुपालनलाई व्यावसायिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले परम्परागतरूपमा पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको छ भन्नुभयो । भवन निर्माणपछि गाउँपालिकाभित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो । यहाँ चिकित्सकसहितको दरबन्दी खटाउने तयारी गरिएको छ । साथै यहाँ प्रयोगशालासमेत सञ्चालन हुनेछ । प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने भएको छ ।
दरबन्दी अभाव भएकाले पूर्ति गरेर उपकरणसहित सेवा प्रवाहको थालनी गरिने पशु सेवा शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिनुभयो । पशुको उपचारका लागि दमौली जानुपर्ने बाध्यता अब हट्ने उहाँले बताउनुभयो । सुरुआती चरणमा यहाँबाट गोबर परीक्षण, कृत्रिम गर्भाधानलगायतका सेवा दिने तयारी थालिएको छ ।
उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशु सेवा केन्द्र अतिआवश्यक थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो । यो वडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । “बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ”, न्यौपानेले भन्नुभयो, “व्यावसायिकरूपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।”
गाउँपालिकाले पशुपालक कृषकलाई लक्ष्य गरी माउ बाख्रा वितरण, दूध उत्पादनमा प्रतिलिटर रु एक अनुदान, घाँस तथा औषधि वितरणलगायतका सहयोग गर्दै आएको छ । गाउँपालिकाले बन्दीपुर–५ मा सेवा केन्द्र स्थापना गरी पशुपालक कृषकलाई सेवा दिइरहेको छ ।
मिर्गौला पीडितलाई साढे चार लाख सहयोग
तनहुँ समाज हङकङले जिल्लाका दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ घर भएका दुई मिर्गौला पीडितलाई रु चार लाख ५७ हजार आर्थिक सहयोग गरेको हो । दुवै मिर्गौला रोग उपचारका क्रममा रहेका ४१ वर्षीय लुमबहादुर रिमाली र ३६ वर्षीय खिमबहादुर नेपालीलाई समाजको तर्फबाट आर्थिक सहयोग गरिएको हो । सोमबार खैरेनीटारमा समाजका पूर्वअध्यक्ष भीमराज गुरुङले पीडितद्वयलाई भेटेर रकम हस्तान्तरण गर्नुभएको छ ।
पीडित नेपालीलाई रु दुई लाख ७४ हजार २०० र रिमालीलाई रु एक लाख ८२ हजार ८०० सहयोग गरिएको समाजका सचिव सुवित गुरुङले जानकारी दिनुभयो । उनीहरुको नियमित डायलायसिसलगायतका उपचारमा रकम अभाव भएको खबर स्थानीय टोलबहादुर थापाले हङकङमा रहेका आफ्ना दाजु लालबहादुर थापालाई बताएपछि उहाँको सक्रियतामा हङकङमा रहेका नेपालीहरूबाट रकम सङ्कलन गरिएको थियो ।
समाजले जिल्लामा विगत १० वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला १० वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै गत असारमा आएको पहिराबाट पीडित भएका ऋषिङका पहिरापीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।
समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ मा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।
समाजमा ४०० जना तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ । रासस