Kath Khabar
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

तनहुँ, भदौ २९। टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उहाँ खसेर बेपत्ता हुनुभएको हो। आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक जानुभएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिनुभएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उहाँसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उहाँका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

(रासस)

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update