Kath Khabar
संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

काठमाडौं, भदौ ३१ । संखुवासभा सामूहिक हत्याकाण्ड प्रकरणमा थप एक जना पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सामूहिक हत्याकाण्डका मूख्य आरोपी लोकबहादुर कार्कीका भाई नरेश कार्की रहेको संखुवासभा प्रहरीले जानकारी दिएको छ।

२५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिनु भयो । प्रहरीले अनुसन्धानको क्रममा सोधपुछको लागि नरेशलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा नरेशको घरबाट प्रहरीले मोबाइल बरामद गर्नुभएको छ।

लोकबहादुरले ६ जनाको हत्या गर्दा नरेश पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको प्रहरी समक्ष साबिती बयान लोकबहादुरले दिनु भएको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update